एक भोट राष्ट्रका लागि’ नारासहित वीरगञ्ज–२ मा सन्तोष पटेलको घरदैलो
वीरगञ्ज ।
पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. १ का बजार छपकैया, नदिया टोला, श्री लक्ष्मी नारायण मन्दिर क्षेत्र तथा पार्वती नगरमा आज नेपाल जनता पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
घरदैलो कार्यक्रमका क्रममा नेपाल जनता पार्टीका उम्मेदवार सन्तोष पटेलले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै पार्टीका नीति, सिद्धान्त र चुनावी प्रतिबद्धता प्रस्तुत गरे । “एक भोट राष्ट्रका लागि” भन्ने नारासहित आयोजित कार्यक्रममा राष्ट्रिय एकता, स्वाभिमानको रक्षा र समृद्ध क्षेत्र निर्माण पार्टीको प्रमुख लक्ष्य रहेको बताइयो ।
उम्मेदवार पटेलले युवाहरू, महिला र विद्यार्थीलाई उच्च सम्मान दिने, किसानलाई प्राथमिकतामा राख्ने, खेलकुद क्षेत्रको प्रोत्साहन गर्ने तथा आर्थिक विकासलाई गति दिने विषयलाई प्राथमिक एजेन्डा बनाइएको बताए । साथै शिक्षा, स्वास्थ्य, सुशासन, विकास र सुरक्षालाई सुदृढ बनाउँदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण गर्दै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, सनातन हिन्दू राष्ट्र नेपाल र रामराज्य स्थापनाको अवधारणालाई अघि बढाउने विषय पनि पार्टीको एजेन्डामा रहेको जनाइएको छ । त्यसैगरी मेडिकल कलेज स्थापना, क्रिकेट स्टेडियम निर्माण, रामायण सर्किट विकास तथा रोजगारी सृजनामार्फत क्षेत्रको समग्र समृद्धि हासिल गर्ने लक्ष्य रहेको उम्मेदवार पटेलले बताए ।
घरदैलो कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । सो अवसरमा उम्मेदवार पटेलले आगामी निर्वाचनमा नेपाल जनता पार्टीको ‘कमल’ चुनाव चिह्नमा मतदान गरी साथ, सहयोग र आशीर्वाद दिन मतदातासमक्ष आग्रह गरे ।