पर्सा–१ मा एमाले उम्मेदवार प्रदीप यादवको भूमिकामाथि प्रश्न, ‘अवसर अनुसार धारणा फेरिने नेता’ भन्ने आलोचना

88

वीरगञ्ज ।

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवको उम्मेदवारीलाई लिएर राजनीतिक बहस तीव्र बन्दै गएको छ। विगतमा उनले नेकपा एमाले र तत्कालीन नेतृत्व, विशेषगरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका तथ्य अहिले फेरि चर्चामा आएको छ।

एक समय एमालेको नीति र नेतृत्वको खुलेर विरोध गरेका यादव अहिले त्यही पार्टीबाट उम्मेदवार बनेर मतदातासँग समर्थन मागिरहेका छन्। यसले उनको राजनीतिक निष्ठा, विचार र प्रतिबद्धता कति स्थायी छन् भन्ने गम्भीर प्रश्न उठेको छ। राजनीतिक विश्लेषकहरू यसलाई “अवसरअनुसार धारणा फेरिने प्रवृत्ति” का रूपमा व्याख्या गर्छन्।

यादवले विकास र जनउत्तरदायी राजनीतिका कुरा गरिरहेका भए पनि आलोचकहरू उनका विगतका कार्यकालमा पर्सा–१ ले ठोस परिवर्तन महसुस गर्न नसकेको दाबी गर्छन्। सडक, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता समस्या अझै जस्ताको तस्तै रहनुले अहिलेका चुनावी प्रतिबद्धताप्रति पनि शंका बढाएको छ।

स्थानीय स्तरमा बढ्दो असन्तुष्टि र प्रश्नहरूले यादवको उम्मेदवारीलाई विवादको केन्द्रमा ल्याएको देखिन्छ। आगामी निर्वाचनमा पर्सा–१ का मतदाताले विकासका नाराभन्दा राजनीतिक निष्ठा र विश्वसनीयतालाई कति महत्व दिन्छन् भन्ने विषय चुनावी बहसको प्रमुख मुद्दा बन्दै गएको छ।

Leave A Reply

Your email address will not be published.