सशस्त्र प्रहरीद्वारा सञ्चालित विपद् तालिम वीरगञ्जमा समापन
१७ चैत्र वीरगञ्ज आनन्द पटेल। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साद्वारा सञ्चालित “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम” सम्पन्न भएको छ।
जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित गण मुख्यालयमा मिति २०८२ मंसिर २५ गतेदेखि सुरु भएको तालिम चैत १६ गते एक कार्यक्रमका बीच समापन गरिएको हो। समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा गणपति शस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका उप–अनुसन्धान निर्देशक सन्तोष ढुङ्गेल, श्री जंग गणका गणपति लोकेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, वीरगञ्ज–१४ का वडा अध्यक्ष महबुब एलाही अंसारी, सञ्चारकर्मी, स्थानीय व्यक्तित्व तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
तालिममा सहभागी २९ जना विपद् स्वयंसेवकहरूलाई प्रमुख जिल्ला अधिकारी दाहालद्वारा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा करिब ८०/९० जनाको उपस्थिति रहेको जनाइएको छ।
विपद् व्यवस्थापनमा स्थानीय स्वयंसेवकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले आपतकालीन अवस्थामा प्रभावकारी उद्धार तथा सहयोगमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।