काठमाडौंमा वैशाख १ देखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने
काठमाडौं – काठमाडौं महानगरपालिकाले वैशाख १ गतेदेखि बेलुका रात्रि ८ बजेदेखि राति ११ बजेसम्म रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ।
महानगरपालिकाका अनुसार ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म १६ किलोमिटरको उत्तर–दक्षिण एकतर्फी रुट चल्नेछ।
त्यसैगरी, पूर्व–पश्चिम दिशामा थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म २० किलोमिटरको रुट तय गरिएको छ। यी दुवै रुटमा चारवटा रात्रिकालीन विद्युतीय बसहरु सञ्चालन हुनेछन्।
महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले बेलुका सार्वजनिक यातायात नहुँदा महँगो यात्रा गर्नु पर्ने समस्या सुधार गर्न यो सेवा सुरु गर्न लागिएको बताइन्। उनले भनिन्, “सार्वजनिक यातायात नहुँदा किशोरी, महिला र विद्यार्थीहरु समस्या भोग्नु परेको छ। अब यो सेवा सुरु गर्न लागेको हो।”
रात्रिकालीन सेवा अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणालीका रूपमा सञ्चालन हुने योजना रहेको छ। तोकिएका बस स्टपहरुमा हरेक २० मिनेटमा बस उपलब्ध हुनेछ। बसमा सीसीटिभी जडान हुने र सुरक्षाका लागि नगर प्रहरी पनि हुने महानगरपालिकाले जानकारी दिएको छ।
महानगरपालिकाले साझा यातायातसँग सहकार्य गर्दै नयाँ वर्षदेखि यो सेवा सुरु गर्न लागेको हो।