समस्या कागजमा होइन, जीवनमा देखिनुपर्छ’— पर्सागढीमा अशोक टेमानीको घरदैलो

49

वीरगंज, २७ माघ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिकाका वडा नम्बर ६ र ७ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो अभियानका क्रममा उम्मेदवार टेमानीले स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै क्षेत्रका यथार्थ समस्या बुझ्ने प्रयास गरेका छन्। स्थानीयका अनुसार कृषि मुख्य पेशा भए पनि आधुनिक सिँचाइ प्रणालीको अभाव, कृषि प्रविधिमा पहुँच नहुनु र उत्पादनको उचित बजार नपाउँदा किसानहरू अपेक्षित आम्दानीबाट वञ्चित हुँदै आएका छन्।

त्यसैगरी स्वास्थ्य चौकीहरूमा औषधि र दक्ष जनशक्तिको कमी, विद्यालयहरूमा भौतिक पूर्वाधार, शिक्षक तथा गुणस्तरीय शिक्षाको अभाव, साथै वर्षायाममा सडक हिलाम्मे भई यातायात अवरुद्ध हुने समस्याले दैनिक जीवन कष्टकर बन्दै गएको जनगुनासो स्थानीयले टेमानीसमक्ष राखेका छन्।

जनतासँगको संवादका क्रममा उम्मेदवार टेमानीले “समस्या कागजमा होइन, जनताको जीवनमा देखिनुपर्छ” भन्ने धारणा व्यक्त गर्दै स्थानीयका गुनासा ध्यानपूर्वक सुन्ने, तथ्य संकलन गर्ने र समाधानका व्यवहारिक उपाय अघि बढाइने प्रतिबद्धता जनाएका छन्।

उनले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपश्चात खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि विकास तथा रोजगारी सिर्जनालाई आफ्नो प्रमुख प्राथमिकता बनाउने स्पष्ट पारेका छन्।

स्थानीयवासीका अनुसार टेमानीको सरल स्वभाव, प्रत्यक्ष संवाद र समस्या समाधानमुखी दृष्टिकोणले जनतामा आशा र विश्वास बढेको छ। उल्लेख्य सहभागितामा सम्पन्न घरदैलो कार्यक्रममार्फत जसपा नेपालले पर्सा–२ मा स्थानीय आवश्यकता र जनजीवनसँग जोडिएका मुद्दालाई केन्द्रमा राखेर चुनावी अभियानलाई थप सशक्त बनाइरहेको देखिन्छ।

Leave A Reply

Your email address will not be published.