इन्डिया कार्ड र चाइना कार्ड’मा बालेन सरकारको विश्वास छैन : रास्वपा सभापति पन्त
वीरगञ्ज– प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले बालेन सरकारले ‘इन्डिया कार्ड’ र ‘चाइना कार्ड’को राजनीतिमा पटक्कै विश्वास नगर्ने बताएका छन्।
वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासद्वारा नगर सभागृह (टाउनहल) मा आयोजित भारतीय राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५०औँ वार्षिकोत्सव विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पन्तले यस्तो बताएका हुन्।
उनले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त विशिष्ट र ऐतिहासिक रहेको उल्लेख गर्दै नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च महत्त्व दिँदै आएको बताए।
सांसद पन्तले नेपाल र भारतबीच रहेका साझा धार्मिक धरोहर, सांस्कृतिक परम्परा तथा चाडपर्वले दुई देशबीचको आपसी सम्बन्धलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरे।
भारतीय महावाणिज्यदूत देवी सहाय मिनाको अध्यक्षतामा सम्पन्न उक्त विशेष सांगीतिक समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर), नयाँदिल्लीको तर्फबाट सुश्री विजया भारतीको नेतृत्वमा आएको टोलीले सांगीतिक प्रस्तुति प्रस्तुत गरेको थियो।
कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मिनाले भारतीय राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को ऐतिहासिक महत्त्व र यसको पृष्ठभूमिबारे प्रकाश पारेका थिए।