उखु उत्पादन घटेपछि भारतको चिनी निर्यात बन्द
३१ वैशाख, काठमाडौं । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । आन्तरिक बजारमा चिनीको मूल्यवृद्धि नियन्त्रण गर्न तथा आपूर्ति सहज बनाउन भारतले सन् २०२६ सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यात रोक लगाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रोयटर्सका अनुसार भारतले चिनीलाई ‘निषेधित’ श्रेणीमा राखेको हो । यसअघि चालु सिजनमा १५ लाख ९० हजार टन चिनी निर्यातको अनुमति दिएको भारतले उत्पादनमा अनिश्चितता र विश्व बजारको अस्थिरताका कारण नीति परिवर्तन गरेको जनाएको छ ।
ब्राजिलपछि विश्वकै दोस्रो ठूलो चिनी उत्पादक भारतमा पछिल्लो समय उखु उत्पादन घट्दो क्रममा छ । महाराष्ट्र र कर्नाटकजस्ता प्रमुख उखु उत्पादक राज्यमा उत्पादनमा कमी आएपछि लगातार दोस्रो वर्ष पनि खपतभन्दा कम चिनी उत्पादन हुने अनुमान गरिएको छ ।
‘अल निनो’ प्रभाव र अनिश्चित मनसुनका कारण आगामी सिजनमा समेत उखु उत्पादन प्रभावित हुन सक्ने चिन्ता बढेको छ । साथै, कच्चा तेलको मूल्यवृद्धि र भारतीय रुपैयाँको अवमूल्यनले खाद्यान्न महँगी बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले निर्यातभन्दा आन्तरिक आपूर्तिलाई प्राथमिकता दिएको बताइएको छ ।
चिनी निर्यात प्रतिबन्ध भारतको इथानोल नीतिसँग पनि जोडिएको छ । पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने लक्ष्यअनुसार भारतले ठूलो मात्रामा उखु इथानोल उत्पादनमा प्रयोग गर्न थालेको छ । विश्लेषकहरूले यसअघि नै इथानोल उत्पादन बढ्दा चिनी अभाव हुन सक्ने चेतावनी दिएका थिए ।
यद्यपि, निर्यात प्रक्रियामा गइसकेका चिनी तथा अमेरिका र युरोपेली संघको निश्चित कोटाअन्तर्गतका निर्यातमा भने छुट दिइएको छ । भारतको निर्णयपछि ब्राजिल र थाइल्यान्डजस्ता देशहरूले एसिया र अफ्रिकामा व्यापार विस्तार गर्ने अवसर पाउने अनुमान गरिएको छ ।