उपचार खर्च घटाउन परवानीपुर गाउँपालिकाको पहल, गण्डक अस्पतालमा २० प्रतिशत छुट

57

वीरगञ्ज, ४ भदौ । परवानीपुर गाउँपालिकाका बासिन्दालाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले परवानीपुर गाउँपालिका र गण्डक अस्पतालबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार परवानीपुर गाउँपालिकाका बासिन्दाले गण्डक अस्पतालबाट स्वास्थ्य उपचार तथा अन्य सेवामा सहुलियत प्राप्त गर्नेछन्। अस्पतालमा भर्ना तथा उपचार गर्दा लाग्ने बिलमा इम्प्लान्ट बाहेक २० प्रतिशत छुट उपलब्ध गराउने व्यवस्था गरिएको छ।

त्यस्तै, सम्झौताअनुसार गाउँपालिकाका नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर तथा अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रम संयुक्त रूपमा सञ्चालन गरिने जनाइएको छ। आवश्यकता र आपसी सहमतिका आधारमा विशेष स्वास्थ्य प्याकेजसमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ।

सम्झौतामा गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारको सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मनिष मिश्र लगायतको उपस्थिति थियो।

गाउँपालिका अध्यक्ष कुर्मीले सम्झौतापछि स्थानीय नागरिकले उपचारका लागि सहज पहुँच पाउनुका साथै तुलनात्मक रूपमा कम खर्चमा गुणस्तरीय स्वास्थ्य सेवा लिन सक्ने बताए। आर्थिक रूपमा कमजोर नागरिकका लागि यस्तो सहकार्य थप उपयोगी हुने उनको भनाइ थियो।

गाउँपालिका र गण्डक अस्पतालबीचको सहकार्यले स्थानीयस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न तथा उपचारमा लाग्ने आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.