जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वले गर्यो पदभार ग्रहण, सदस्यलाई दुर्घटना बीमा सुविधा घोषणा
बारा, असार ११ । जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्तासहित पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेका छन्। बिहीबार संघको कार्यालयमा आयोजित समारोहमा नवनिर्वाचित नेतृत्वले सपथ ग्रहण गरी जिम्मेवारी सम्हालेको हो।
संघका निवर्तमान अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष अशोक टेमानीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उद्योगपति तथा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेश लाठ र वरिष्ठ उपाध्यक्ष माधव राजपालको विशेष उपस्थिति रहेको थियो।
नवनिर्वाचित पदाधिकारीहरूमा अध्यक्ष गजेन्द्रकुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष शिवजीप्रसाद साह सोनार, वाणिज्य उपाध्यक्ष रामबाबु कलवार, महासचिव प्रकाश गिरी, कोषाध्यक्ष रिना रौनियार पुरी तथा वाणिज्य सचिव रिता कँडेल रहेका छन्।
त्यसैगरी वाणिज्यतर्फ निर्वाचित सदस्यहरू अमरेन्द्रकुमार साह कलवार, विभा गुप्ता, मुकुन्द रिजाल, बलराम पौडेल, विजयकुमार गुप्ता, नवरत्नप्रसाद कलवार र मनोहरबाबु गुप्ताले पनि सपथ ग्रहण गरी पदभार सम्हालेका छन्। प्रमुख निर्वाचन अधिकृत शरदचन्द्र भट्टराईले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अशोक टेमानीले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उद्योगी–व्यवसायीहरूको हकहित संरक्षण तथा निजी क्षेत्रको प्रवर्द्धनमा संघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। उनले पथलैया–वीरगञ्ज औद्योगिक क्षेत्रमा देशकै ठूलो विशेष आर्थिक क्षेत्र (SEZ) रहेको उल्लेख गर्दै उद्योगी तथा व्यवसायीहरूलाई उक्त क्षेत्रमा लगानी गर्न आग्रह गरे।
कार्यक्रममा नवनिर्वाचित समितिले संघमा आबद्ध ९५७ जना सदस्यका लागि एक वर्ष अवधिको एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।
नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्ताले निजी क्षेत्रलाई आतंकित बनाउने गतिविधिविरुद्ध सम्बन्धित निकायसँग समन्वय गरी व्यवसायीहरूको सुरक्षा र हितका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा रहेका उद्योग तथा व्यवसायीहरूको सम्मान, प्रतिष्ठा र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
उद्योगी, व्यवसायी, संघका पूर्व पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रमले निजी क्षेत्रको सशक्तीकरण र व्यवसायिक वातावरण सुधारका विषयमा समेत चर्चा गरेको थियो।