डिजिटल सुरक्षाका आधारभूत उपाय सिकाउँदै सामाजिक संस्थालाई साइबर सचेतना

2

वीरगञ्ज । सामाजिक संस्था (CSO) का प्रतिनिधिहरूका लागि आयोजित डिजिटल साक्षरता तथा जनचेतना तालिममा सहभागीलाई डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै विस्तार भइरहेका साइबर जोखिमबाट सुरक्षित रहन सचेत गराइएको छ।

तालिमका क्रममा रेस्टलेस डेभलपमेन्टकी प्रोग्राम म्यानेजर संगीताले डिजिटल प्रविधिको तीव्र विकाससँगै गोपनीयता उल्लङ्घन, साइबर अपराध, अनलाइन ठगी, नक्कली सामाजिक सञ्जाल खाता तथा अन्य डिजिटल जोखिम बढ्दै गएको बताइन्।

उनले सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यम प्रयोग गर्दा व्यक्तिगत विवरण, पासवर्ड, ओटीपी, बैंकिङसम्बन्धी सूचना तथा अन्य संवेदनशील जानकारी कसैसँग पनि साझा नगर्न सहभागीलाई आग्रह गरिन्।

अपरिचित लिंकमा क्लिक गर्ने, शंकास्पद सन्देशको जवाफ दिने तथा विश्वसनीयता पुष्टि नभएका वेबसाइट वा डिजिटल माध्यम प्रयोग गर्ने कार्यबाट समेत सावधान रहनुपर्नेमा उनले जोड दिइन्।

डिजिटल प्रविधिको सुरक्षित, जिम्मेवार र प्रभावकारी प्रयोगका लागि नागरिकमा आवश्यक ज्ञान तथा सीप विकास गर्न डिजिटल साक्षरता तालिम महत्वपूर्ण रहेको उनको भनाइ थियो।

तालिममा सहभागीलाई साइबर सुरक्षाका आधारभूत पक्ष, व्यक्तिगत सूचना तथा डिजिटल खाताको सुरक्षा, अनलाइन ठगीबाट बच्ने उपाय र सम्भावित साइबर जोखिम पहिचान गर्ने तरिकाबारे जानकारी दिइएको थियो।

प्रविधिको प्रयोग बढ्दै जाँदा त्यससँग सम्बन्धित जोखिमसमेत बढिरहेकाले डिजिटल माध्यम प्रयोगकर्ताले सामान्य सावधानी अपनाए धेरै प्रकारका साइबर जोखिमबाट जोगिन सकिनेमा तालिमका क्रममा जोड दिइएको थियो।

Leave A Reply

Your email address will not be published.