पर्सामा सशस्त्र प्रहरीद्वारा १४ लाख २५ हजारको अवैध सामान बरामद

37

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट १४ लाख २५ हजार ५०० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार २०८३ असोज २८ गते वीरगञ्ज महानगरपालिका–२५ स्थित खल्वा सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) ड्राईपोर्टको टोलीले धान खेतमा लुकाइछिपाइ राखिएको १३ लाख ४५ हजार ५०० रुपैयाँ बराबरको मानिसले प्रयोग गर्ने विभिन्न प्रकारका औषधि बरामद गरेको हो।

बरामद गरिएका औषधि आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन पर्साको छिपहरमाई गाउँपालिका–५ स्थित भिष्वा सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ८० हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल बीओपी भिष्वाबाट खटिएको टोलीले जुत्ता, चप्पल तथा प्लास्टिकका खेलौना लगायतका सामान बरामद गरेको हो।

उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले उक्त जानकारी दिएका हुन्।

Leave A Reply

Your email address will not be published.