पूर्व कार्यसमितिसँग माइनुट र हरहिसाब माग्दै पत्रकार महासंघ पर्साको तीन दिने अल्टिमेटम

45

०७ जेष्ठ, वीरगन्ज

नेपाल पत्रकार महासंघ पर्सा शाखाले पूर्व कार्यसमितिसँग शाखासम्बन्धी माइनुट, हरहिसाब तथा अन्य आवश्यक कागजात तीन दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ। शाखाका सचिव विजयकुमार महतोद्वारा जारी पत्रमार्फत निवर्तमान अध्यक्ष अनुप तिवारीलाई सम्बोधन गर्दै सदस्यता शुद्धीकरण प्रक्रियाका लागि आवश्यक अभिलेख हालसम्म प्राप्त नभएको जनाइएको हो।

पत्रमा अनुप तिवारीको संयोजकत्वमा गठित सदस्यता शुद्धीकरण संघर्ष समितिले सदस्यता शुद्धीकरणको माग अघि सारेपछि त्यससम्बन्धी तथ्य यकिन गर्न तत्कालीन कार्यसमितिका निर्णय, प्रक्रिया तथा विवरण अध्ययन आवश्यक रहेको उल्लेख गरिएको छ। तर, तत्कालीन कार्यसमितिले जिल्ला शाखाको माइनुटलगायत कुनै पनि अभिलेख वर्तमान कार्यसमितिलाई हस्तान्तरण नगरेको आरोप लगाइएको छ।

महासंघका अनुसार वर्तमान कार्यसमितिको २०८१ पुस ३ गते बसेको पहिलो बैठकले तत्कालीन कोषाध्यक्ष तथा हालका शाखा कोषाध्यक्ष सञ्जीव कुमार मिश्रलाई सम्पूर्ण हरहिसाब तथा चलअचल सम्पत्तिको विवरण ३० दिनभित्र पेश गर्न जिम्मेवारी दिएको थियो। तर, ५१८ दिन बितिसक्दासमेत उक्त विवरण उपलब्ध नगराइएको पत्रमा उल्लेख छ।

शाखाले पटक–पटक आग्रह गर्दा पनि पूर्व पदाधिकारीहरूले माइनुट तथा अन्य कागजात बुझाउन आनाकानी गरिरहेको जनाएको छ। आवश्यक अभिलेखको अभावले महासंघको नियमित प्रशासनिक तथा संस्थागत कार्य सञ्चालनमा समेत समस्या उत्पन्न भएको शाखाको दाबी छ।

पत्रमार्फत शाखाले माइनुटलगायत सम्बन्धित सम्पूर्ण कागजात तथा विवरण तीन दिनभित्र शाखा कार्यालयमा बुझाउन आग्रह गर्दै अन्यथा विधान र नियमावलीअनुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। उक्त पत्रको बोधार्थ नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, काठमाडौं तथा मधेश प्रदेश कार्यालय, धनुषामा समेत पठाइएको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.