भारतको मुजफ्फरपुरबाट उद्धार गरिएकी नेपाली महिलाको परिवारसँग पुनर्मिलन
वीरगन्ज, असोज २ ।
भारतको मुजफ्फरपुरमा अलपत्र अवस्थामा भेटिएकी एक नेपाली महिलाको उद्धारपछि परिवारसँग पुनर्मिलन भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र मानवसेवा आश्रम वीरगञ्जको समन्वय तथा सहकार्यमा उनलाई गत भदौ २७ गते शनिबार उद्धार गरी वीरगञ्ज ल्याइएको थियो। भारतीय प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा तथा मानवसेवा आश्रम वीरगञ्जको संयुक्त प्रयासमा उनको उद्धार सम्भव भएको हो।
वीरगञ्ज ल्याइएपछि मानवसेवा आश्रमले आवश्यक हेरचाह तथा संरक्षण प्रदान गर्दै परिवारको खोजी तथा सम्पर्कका लागि निरन्तर समन्वय गरेको थियो। सोही क्रममा उनका बुवासँग सम्पर्क स्थापित भएपछि आज उनलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई, प्रहरी नायब उपरीक्षक चक्र मल्ल तथा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताको उपस्थितिमा बुवाको जिम्मा लगाइएको हो।
लामो समयदेखि परिवारबाट टाढा रहेकी महिलाको उद्धारपछि परिवारसँग पुनर्मिलन गराउन सफल भएको मानवसेवा आश्रमले जनाएको छ।
मानवसेवा आश्रमले यस मानवीय कार्यमा सहयोग, समन्वय तथा सहकार्य गर्ने भारतीय प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा तथा सम्पूर्ण सहयोगीहरू प्रति आभार व्यक्त गरेको छ।