विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको छापामारी, ३ लाखका अवैध कपडा बरामद

29

वीरगञ्ज, असार ३०

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१ छपकैया सुकुम्बासी टोलमा छापामारी गरी करिब रु. ३ लाख बराबरका अवैध कपडा बरामद गरेको छ।

मंगलबार दिउँसो १२:४५ बजे भारतबाट भन्सार छली गरी ल्याइएका कपडा विभिन्न घरमा लुकाएर राखिएको सूचनापछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा टोली परिचालन गरिएको थियो। उक्त टोलीमा इलाका प्रहरी कार्यालय छपकैयाको प्रहरी टोली तथा वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधि पनि सहभागी थिए।

संयुक्त टोलीले १० वटा गोठ र ११ वटा फुसका घरमा खानतलासी गर्दा मेलु साह तुराहाको घरभित्र पलङको प्लाइमुनि लुकाइएका चार पोका सुटिङ तथा थानका कपडा र गोठमा भुसभित्र लुकाइएका एक पोका कुर्ता–सुरुवालका कपडा फेला पारेको थियो।

बरामद गरिएका पाँच पोका कपडाको अनुमानित मूल्य रु. ३ लाख रहेको सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्साले जनाएको छ। बरामद कपडाहरू आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.