वीरगन्जमा हिन्दु पत्रकारहरूको बैठक समपन्न : हनुमान जयन्ती भव्य बनाउन प्रचार अभियान

43

वीरगन्ज, पर्सा — हिन्दु पत्रकार संघ नेपालको केन्द्रीय समितिको महत्त्वपूर्ण बैठक  बुधवार वीरगन्जको ऐतिहासिक माईस्थानमा सम्पन्न भएको छ। संघका केन्द्रीय अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले धार्मिक सम्पदाको संरक्षण र आगामी हनुमान जयन्तीलाई भव्य र ऐतिहासिक रूपमा मनाउने विषयमा रणनीतिक निर्णयहरू गरेको छ।

सांसदसँग मठ–मन्दिरबारे प्रत्यक्ष संवाद:

बैठकले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका नवनिर्वाचित सांसदहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। सो कार्यक्रममा सांसदहरूको क्षेत्रमा रहेका ऐतिहासिक मठ–मन्दिर, धर्मशाला र धार्मिक स्थलहरूको वर्तमान अवस्था, ती सम्पदाको संरक्षणमा जनप्रतिनिधिको भूमिका र आगामी योजनाबारे विस्तृत छलफल गरिने सचिव राज सराफले जानकारी दिनुभयो।

हनुमान जयन्तीलाई ‘जनउत्सव’ बनाइने:

आसन्न हनुमान जयन्तीलाई वीरगन्जमा ऐतिहासिक र भव्य रूपमा मनाउन जनसहभागिता जुटाउने उद्देश्यले संघले व्यापक प्रचार–प्रसार गर्ने निर्णय गरेको छ। यसका लागि हिन्दुवादी संघ–संस्था र धार्मिक स्थलका पदाधिकारीहरूसँग समन्वय गरी धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिइने अध्यक्ष रौनियारले बताउनुभयो।

पत्रकारहरूको सक्रिय भूमिका:

बैठकमा उपाध्यक्षद्वय विमला गुप्ता र विनोद पटेल, सचिव राज सराफ, कोषाध्यक्ष आनन्द पटेल, सदस्यहरू राकेश साह, अभिलाष गुप्ता, अर्जुन चौधरी, सन्तोष कुशवाहा, राजु बैठा, अनिल ओझा, रवि वर्णवाल, रश्मि राजभण्डारी र सञ्जय साह लगायतको उपस्थिति रहेको थियो।

बैठकले स्थानीय तहमा रहेका ओझेलमा परेका धार्मिक र पर्यटकीय स्थलहरूको खोजी, संरक्षण र प्रचार–प्रसारमा पत्रकारहरूको सक्रिय भूमिका महत्त्वपूर्ण हुने निष्कर्ष निकाल्दै आगामी दिनमा यस विषयमा थप अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ।

Leave A Reply

Your email address will not be published.