स्वर्गीय राजा वीरेन्द्र शाहको स्मृतिमा वीरगञ्जमा श्रद्धाञ्जली सभा, दरबार हत्याकाण्डको निष्पक्ष छानबिनको माग
वीरगञ्ज, जेठ १९ । स्वर्गीय पूर्व राजा को दरबार हत्याकाण्ड भएको दिनको सम्झनामा राजभक्त देशभक्त केन्द्रीय कार्यालय वीरगञ्जले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।
राजभक्त देशभक्तका केन्द्रीय अध्यक्ष दीपेन्द्रप्रसाद रौनियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले नारायणहिटी दरबार हत्याकाण्डको घटनाबारे अहिलेसम्म सत्यतथ्य सार्वजनिक नभएको र दोषीलाई कारबाही नगरिएको भन्दै चिन्ता व्यक्त गरेका थिए।
वक्ताहरूले स्वर्गीय राजा वीरेन्द्रले देशमा शान्ति, स्थिरता र जनताको हितका लागि महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै उनको शासनकालमा सुशासन र जनउत्तरदायी व्यवस्थाको अनुभूति भएको धारणा राखे। उनीहरूले राजा वीरेन्द्रको निधनले राष्ट्रले एक लोकप्रिय तथा जनप्रिय अभिभावक गुमाएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत गरेका थिए।
श्रद्धाञ्जली सभामा पशुपति विक्रम शाह, महेन्द्रप्रसाद शाह, वीरेन्द्र थापा, रामनारायण शाह, जनकलाल शाह, जयनारायण गौरो, अनुराणा, रञ्जन कुमार, रोशनी शाह, भिष्मा यादवलगायत शुभेच्छुक तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको अध्यक्ष रौनियारले जानकारी दिनुभयो।
कार्यक्रममा स्वर्गीय राजा वीरेन्द्रप्रति श्रद्धासुमन अर्पण गर्दै सहभागीहरूले उनको योगदानको स्मरण गरेका थिए।