वीरगञ्जमा चेकजाँचका क्रममा लागू औषध बरामद, ४ जना पक्राउ

55

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान अन्तर्गत लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८३ वैशाख २८ गते वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट चेकपोइन्टमा भारतबाट नेपालतर्फ आउने पैदल यात्री तथा सवारी साधनमाथि चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा २६ वर्षीय पैयाल अन्सारी, ३४ वर्षीय संजय साह, २१ वर्षीय विशाल यादव लगायत ४ जना रहेका छन्। उनीहरूको साथबाट खैरो हिरोइन र चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पैयाल अन्सारी र संजय साहबाट ०.१० मिलिग्राम खैरो हिरोइन तथा ४ ग्राम चरेस बरामद भएको थियो। त्यसैगरी संजय साहकै साथबाट थप ३ ग्राम ४२ मिलिग्राम खैरो हिरोइन फेला परेको तथा विशाल यादवबाट ०.४३ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको जनाएको छ।

पक्राउ परेका चारै जनामाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.