पर्सामा सशस्त्र प्रहरीद्वारा १४ लाख भन्दा बढीको कपडा र किराना सामान बरामद
वीरगञ्ज, २६ वैशाख — सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छली गरी भण्डारण गरेर राखिएको करिब १४ लाख ११ हजार रुपैयाँ बराबरको कपडा तथा किराना सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ नकटुवा विर्ताटोलस्थित गोठमा भन्सार छली चोरीपैठारी गरी कपडा भण्डारण गरिएको विशेष सूचनाको आधारमा छापामारी गरिएको थियो। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेर ११ लाख ७५ हजार ५ सय रुपैयाँ बराबरको १७ पोका कपडा बरामद गरेको जनाएको छ।
उक्त टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले गरेका थिए। बरामद सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
यस्तै, पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका किराना सामान लुकाइछिपाइ राखिएको सूचनाका आधारमा अर्को छापामारी गरिएको थियो। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, प्रहरी चौकी बलुवा तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले खानतलासी गर्दा २ लाख ३५ हजार ५ सय रुपैयाँ बराबरका किराना सामान बरामद गरेको हो।
उक्त टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन बोगटीले गरेका थिए। बरामद सामान पनि आवश्यक प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यस सम्बन्धी जानकारी मोहन राज निरौलाले दिएका छन् ।