वीरगञ्ज–१० मा चौथो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु, सांसद सुशील साह कानुद्वारा उद्घाटन
वीरगञ्ज, २६ वैशाख — वीरगञ्ज महानगरपालिका वडा नं. १० को आयोजनामा चौथो संस्करणको वडा स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। युवाहरूमा खेलकुदप्रति आकर्षण बढाउने तथा अनुशासन, सद्भाव र सहकार्यको भावना विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य सुशील साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रम वडा नं. १० का कार्यवाहक वडा अध्यक्ष सन्तोष जैसिको अध्यक्षतामा भएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद साहले खेलकुदले युवाहरूलाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने बताउँदै स्थानीय तहबाट यस्ता प्रतियोगिताको निरन्तर आयोजना आवश्यक रहेको धारणा व्यक्त गरे। उनले खेलकुदमार्फत समाजमा अनुशासन र भाइचाराको भावना अझ मजबुत बन्ने बताए।
कार्यक्रममा उद्योगपति अशोक बैध, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, रबि श्रीवास्तव, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कानु, वडा सचिव पवन प्रधानलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
उद्घाटन सत्रअन्तर्गत वडा भित्रका ८ विद्यालयबीच मार्चपास प्रतियोगिता समेत आयोजना गरिएको थियो। प्रतियोगितामा Little Angels Secondary School प्रथम, Mount Makalu English Boarding School दोस्रो तथा श्री रामचरण पन्नालाल माध्यमिक विद्यालय तेस्रो भएका थिए।
कार्यक्रम सञ्चालन पत्रकार क्रान्ती साहले गरेका थिए ।