प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, सनसाइन डोजाङ प्रथम

56

वीरगञ्ज, असार १३।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। सफल तेक्वान्दो डोजाङको आयोजनामा शनिबार वीरगञ्जस्थित डायमण्ड पार्टी प्यालेसमा प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा जिल्लाका विभिन्न तेक्वान्दो डोजाङका खेलाडीहरूबीच प्रतिस्पर्धात्मक खेल प्रदर्शन भएको थियो। प्रतियोगितामा सनसाइन तेक्वान्दो डोजाङले ७ स्वर्ण, ३ रजत र ६ कांस्य पदकसहित प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै नगुवा तेक्वान्दो डोजाङले ५ स्वर्ण, ८ रजत र ८ कांस्य पदक जित्दै दोस्रो स्थान प्राप्त गर्यो भने आयोजक सफल तेक्वान्दो डोजाङ ३ स्वर्ण, ४ रजत र ३ कांस्य पदकसहित तेस्रो स्थानमा रह्यो।

विजेता खेलाडी तथा टोलीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व खानेपानी मन्त्री ओमप्रकाश शर्मा रहेका थिए। विशिष्ट अतिथिका रूपमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक पटेल तथा पूर्व खेलाडी दीपक तिवारी सहभागी थिए। साथै प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, आम जनता पार्टीका विश्वराज पटेल, विभिन्न डोजाङका प्रशिक्षक, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगिताको उद्देश्य तेक्वान्दो खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा जिल्लास्तरीय खेल गतिविधिलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ। विभिन्न उमेर समूह तथा तौल समूहका खेलाडीहरू सहभागी रहेको प्रतियोगिताले खेलाडीहरूको प्रतिभा प्रदर्शनसँगै अनुशासन, आत्मविश्वास र खेल संस्कृतिको विकासमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.