वीरगञ्ज पब्लिक कलेजको रजत जयन्ती सम्पन्न, गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादनमा जोड
वीरगञ्ज, असार १३ – वीरगञ्ज पब्लिक कलेजले आफ्नो स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती तथा २५औँ शैक्षिक वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। समारोहमा शिक्षाविद्, उद्योगी–व्यवसायी, समाजसेवी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कलेजका संस्थापक एवं प्राध्यापक डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी पशुपति विक्रम शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कलेजका चेयरम्यान संकल्प शाक्य विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहले गुणस्तरीय शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको बताउनुभयो। उहाँले शैक्षिक संस्थाहरूले विद्यार्थीलाई केवल शैक्षिक प्रमाणपत्र मात्र नभई नैतिकता, नेतृत्व क्षमता र व्यावहारिक सीपसमेत प्रदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। आधुनिक तथा प्रविधिमैत्री शिक्षामार्फत सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा निजी शैक्षिक संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष डा. दीपक शाक्यले २५ वर्षअघि सीमित स्रोत–साधनबाट सुरु भएको कलेज आज यस क्षेत्रको प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित हुन सफल भएको उल्लेख गर्नुभयो। उहाँले कलेजको सफलतामा शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको निरन्तर सहयोग र विश्वास महत्वपूर्ण रहेको बताउनुभयो।
बदलिँदो समयअनुसार अनुसन्धानमूलक, सीपमूलक तथा प्रविधिमा आधारित शिक्षालाई प्राथमिकतामा राख्दै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि सक्षम बनाउने लक्ष्यसहित कलेज अघि बढिरहेको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा कलेजको २५ वर्षे शैक्षिक यात्राको समीक्षा, योगदानकर्ता व्यक्तित्वहरूको सम्मान, सांस्कृतिक प्रस्तुति तथा शुभकामना आदानप्रदानका कार्यक्रम सम्पन्न भएका थिए। रजत जयन्ती समारोहले कलेज परिवार तथा पूर्वविद्यार्थीहरूबीच उत्साह, गौरव र आत्मीयताको वातावरण सिर्जना गरेको थियो।