गहवामाई रथयात्रा लक्षित निःशुल्क स्वास्थ्य शिविर, ३५५ जना लाभान्वित

35

वीरगञ्ज, असार १३ – श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले आगामी गहवामाई रथयात्रालाई लक्षित गर्दै शनिबार माईस्थान मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरबाट ३५५ जनाले विभिन्न स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गरेका छन्।

समितिका अध्यक्ष श्याम पोखरेल, उपाध्यक्ष देवानन्द कलवार, सचिव पप्पु गुप्ता तथा कोषाध्यक्ष रवि अग्रवाल सम्मिलित समितिले गठन गरेको उपसमितिको संयोजनमा शिविर आयोजना गरिएको हो। शिविरको उद्घाटन वरिष्ठ चिकित्सक डा. मनोज गुप्ताले गरेका थिए।

आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य सेवामा सहज पहुँच नभएका श्रद्धालु र सर्वसाधारणलाई लक्षित गरी हरेक वर्ष सञ्चालन गरिँदै आएको शिविर यस वर्ष पनि रथयात्राको अवसरमा आयोजना गरिएको समितिले जनाएको छ।

समितिका सचिव पप्पु गुप्ताले असार ३२ गते हुने गहवामाई रथयात्रालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिए। उनका अनुसार शिविरमा आँखा, दाँत, हाडजोर्नी तथा कानसम्बन्धी रोगको परीक्षण तथा परामर्शका साथै मधुमेह र थाइराइड जाँच सेवा प्रदान गरिएको थियो।

उपसमितिका संयोजक श्याम गुप्ताले शिविरका क्रममा मोतियाबिन्दुको समस्या पहिचान भएका बिरामीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था समेत संस्थाको पहलमा मिलाइएको बताए।

कार्यक्रममा सहसंयोजक अनुप कुमार अग्रवाल, समितिका सदस्यहरू ओशन गुप्ता, राजन गुप्ता, ललित अग्रवाल, विवेक कुमार, मुन्ना सर्राफलगायतको सक्रिय सहभागिता रहेको थियो।

समितिले धार्मिक कार्यक्रमसँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै स्वास्थ्य सेवामार्फत सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.