दिब्य विकास स्रोत केन्द्र र एक्शनएड नेपालको पहलमा पटेर्वा सुगौलीमा बालविवाह विरुद्ध अभियान

45

पर्सा आनन्द पटेल।

बाल विवाह अन्त्य गर्ने उद्देश्यले दिब्य विकास स्रोत केन्द्र (DDRC), पर्सा र एक्शनएड नेपालको संयुक्त साझेदारीमा पटेर्वा सुगौली गाउँपालिकामा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत बालविवाह नभएको सिफारिस प्रणालीको प्रभावकारी कार्यान्वयनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

पटेर्वा सुगौली गाउँपालिकाका सबै वडामा वि.सं. २०८२ देखि लागू गरिएको उक्त प्रणालीअनुसार विवाह गर्न लागेका बालबालिकाको जन्मदर्ता तथा नागरिकता प्रमाणपत्रका आधारमा उमेर २० वर्ष पूरा भएको पुष्टि भएपछि मात्र वडा कार्यालयबाट बालविवाह नभएको सिफारिस उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यस प्रणालीले उमेर नपुगी हुने विवाहलाई निरुत्साहित गर्नुका साथै बालविवाह रोकथाम तथा नियन्त्रणमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अन्तरक्रिया कार्यक्रममा सिफारिस प्रणालीलाई थप प्रभावकारी बनाउने, बालविवाहका घटना रोकथाम गर्ने तथा समुदायस्तरमा बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले बालविवाह सामाजिक विकृतिका रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष तथा प्रतिनिधि, नागरिक समाजका अगुवा र विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सिफारिस प्रणालीको प्रभावकारी कार्यान्वयनले पटेर्वा सुगौली गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सुरक्षित भविष्य सुनिश्चित गर्न स्थानीय सरकार, नागरिक समाज, अभिभावक तथा सरोकारवाला निकायबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.