पकाहामैनपुरको विकासलाई प्राथमिकता दिँदै अध्यक्षमा उम्मेदवारी दिने कृष्णा पटेलको घोषणा
वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिकाको अध्यक्ष पदमा आगामी स्थानीय तह निर्वाचनका लागि युवा नेता कृष्णा पटेलले उम्मेदवारी घोषणा गरेका छन्।
वीरगञ्जमा स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै पटेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब’मार्फत अध्यक्ष पदको उम्मेदवारीका लागि फाराम भरेको जानकारी दिएका हुन्।
गाउँपालिकाको समग्र विकास र समृद्धिलाई मुख्य लक्ष्य बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी गरेको उनले बताए। ग्रामीण क्षेत्र रहेको पकाहामैनपुर गाउँपालिकामा शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने आफ्नो योजना रहेको पटेलको भनाइ छ।
पर्साको पकाहामैनपुर गाउँपालिका–धोरे निवासी पटेल सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन्। उनले नेपाली राजनीतिका विभिन्न आन्दोलनमा समेत सक्रिय सहभागिता जनाउँदै आएको बताएका छन्।
आफ्नै व्यक्तिगत खर्चबाट समेत गाउँमा विभिन्न सामाजिक कार्य गर्दै आएको दाबी गर्दै पटेलले गाउँपालिकाको विकास, नागरिकको जीवनस्तरमा सुधार तथा आधारभूत सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको बताए।