पटेर्वा सुगौलीमा छात्रामैत्री भलिबल प्रतियोगिता सम्पन्न, उपाधिका लागि निचुटा र रंगपुर भिड्ने

50

पर्सा  आनन्द पटेल।

पर्साको पटेर्वा सुगौली गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय छात्रामैत्री भलिबल प्रतियोगिताको पहिलो र दोस्रो चरणका खेल सम्पन्न भएका छन्। प्रतियोगिताको फाइनलमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटा र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, रंगपुरबीच प्रतिस्पर्धा हुने भएको छ।

दिव्य विकास स्रोत केन्द्र, पर्सा र एक्सनएड नेपालको संयुक्त साझेदारी तथा पटेर्वा सुगौली गाउँपालिकाको सहकार्यमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो।

दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरी प्रमुख अतिथि तथा उपाध्यक्ष ममता महतो विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

प्रतियोगिताको पहिलो खेलमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटाले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सुगौली दा.प.लाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

त्यसैगरी, दोस्रो खेलमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, रंगपुरले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वालाई २–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ।

आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल भोलि बिहान १० बजे पटेर्वा सुगौली गाउँपालिका–४ स्थित खेलमैदानमा हुनेछ। उपाधिका लागि निचुटा र रंगपुरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको मुख्य उद्देश्य छात्राहरूको खेलकुदप्रतिको रुचि र क्षमता अभिवृद्धि गर्नुका साथै आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन, आपसी सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्नु रहेको आयोजकले जनाएको छ।

विद्यालय तहमा छात्राहरूको खेलकुद सहभागिता बढाउँदै लैङ्गिक समानता र छात्रामैत्री शैक्षिक वातावरण निर्माणमा समेत प्रतियोगिताले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आयोजक संस्थाले फाइनल खेल अवलोकनका लागि जनप्रतिनिधि, विद्यालय परिवार, अभिभावक, खेलप्रेमी तथा स्थानीय सरोकारवालालाई उपस्थित हुन आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.