एनपीएल इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज इलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुने छ ।
दोस्रो क्वालिफायरमा स्थान बनाउने लक्ष्य सहित दुवै टोली मैदान उत्रँदैछन् । आजको खेलमा जित निकाल्ने टोलीले फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्ने छ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ ।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्सले पनि फाइनल पुग्ने अर्को अवसर पाएको छ । दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि शनिबार लुम्बिनी लायन्ससँग खेल्नेछ ।
लिग चरणमा काठमाडौं गोर्खाजले सात खेल मध्ये चारमा जित र तीनमा हार बेहोर्दै ८ अंक जोडेको थियो । टोली अंकतालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो ।
यता चितवन राइनोजले सात खेल मध्ये तीनमा जित, तीनमा हार र एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्दै ७ अंकसहित चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो ।
आजको प्रतिस्पर्धा दुवै टोलीका लागि निर्णायक हुनेछ । जित्ने टोलीको उपाधि यात्राले निरन्तरता पाउनेछ भने हार्ने टोलीको एनपीएल यात्रा समाप्त हुने छ ।