वीरगञ्ज, २९ कात्तिक आनन्द पटेल।
छठ पर्वको अवसरमा श्रद्धालुहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले सहरका पाँच प्रमुख छठ घाटमा स्वास्थ्य सहायता डेस्क सञ्चालन गरेको छ।
कलेजले रानीघाट, मुर्ली पोखरी, घडिअर्वा पोखरी, स्विमिङ पुल र नगवा पोखरीमा प्राथमिक उपचार तथा स्वास्थ्य सहायता डेस्क स्थापना गरेको हो। छठ घाटमा उपस्थित व्रतालु, श्रद्धालु तथा सर्वसाधारणलाई आकस्मिक स्वास्थ्य समस्या देखिएमा तत्काल उपचार तथा स्वास्थ्य सहायता उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था गरिएको कलेजले जनाएको छ।
दुईदिने छठ पर्वअन्तर्गत आज कात्तिक २९ गते साँझको अर्घ्यका अवसरमा पाँचवटै घाटमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो। भोलि बिहानको अर्घ्यका अवसरमा पनि स्वास्थ्य सहायता डेस्कमार्फत सेवा निरन्तर सञ्चालन गरिनेछ।
प्रत्येक घाटमा हेल्थ डेस्क लिडसहित एमबीबीएस विद्यार्थी स्वयंसेवकहरू परिचालन गरिएको छ। उनीहरूले श्रद्धालुहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक प्राथमिक उपचार तथा स्वास्थ्य सहायता प्रदान गरिरहेका छन्।
स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको सहज परिचालनका लागि कलेजले यातायात, समन्वय तथा अन्य आवश्यक व्यवस्थापनसमेत मिलाएको छ।