सांसद पन्तको पहलमा सिर्सिया नदीमा गण्डकको पानी, छठ अघि नदी बन्यो सङ्लो

90

वीरगञ्ज आनन्द पटेल ।

लोक आस्थाको महापर्व छठपूजाको पूर्वसन्ध्यामा वीरगञ्जको सिर्सिया नदीलाई सङ्लो र सफा बनाइएको छ। नारायणी नदीको पानी गण्डक नहरमार्फत जगरनाथपुर हुँदै सिर्सिया नदीमा मिसाइएपछि नदीको पानी सङ्लो बनेको हो। यसले छठ पर्वका अवसरमा नदीमा अर्घ्य दिने व्रतालु तथा श्रद्धालुलाई ठूलो राहत मिलेको छ।

गण्डक नहरको पानी सिर्सिया नदीमा मिसाउन सांसद पन्तले विगत १५ दिनदेखि निरन्तर पहल र समन्वय गर्दै आएका थिए। भारतीय पक्षसँग भारतीय महावाणिज्य दूतावास तथा नारायणी सिँचाइ डिभिजन कार्यालय वीरगञ्ज मार्फत पटक–पटक संवाद र समन्वय गरेपछि नहरको पानी सिर्सियामा मिसाउन सफलता मिलेको हो।

यस कार्यमा सहयोग तथा समन्वय गर्ने नारायणी सिँचाइ डिभिजन कार्यालय वीरगञ्ज र भारतीय महावाणिज्य दूतावासप्रति सांसद पन्तले धन्यवाद समेत व्यक्त गरेका छन्।

सिर्सिया नदीलाई प्रदूषणमुक्त र स्वच्छ बनाउने अभियान अन्तर्गत सांसद पन्तले प्रधानमन्त्री बालेन्द्र साह समक्ष समेत नदी प्रदूषणको विषय उठाएका थिए। उनले सम्मानित सदनमा पनि सिर्सिया नदीको प्रदूषण नियन्त्रण र सफाइका लागि जोडदार आवाज उठाउँदै आएका थिए।

त्यसपछि गृहमन्त्री सुदन गुरुङले समेत सिर्सिया नदीको स्थलगत अवलोकन तथा निरीक्षण गरेका थिए। नदी प्रदूषणमा संलग्न उद्योगहरूलाई उद्योग मन्त्रालयले जरिवाना गर्नुका साथै प्रदूषण नियन्त्रणका लागि निरन्तर सचेत गराउँदै आएको छ।

सांसद पन्तले आफ्नो कार्यकालमा सिर्सिया नदीलाई सफा र प्रदूषणमुक्त बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। छठ पर्वको पूर्वसन्ध्यामा नदीमा पानीको बहाव बढाएर सङ्लो बनाउने प्रयासले स्थानीयवासीमा सकारात्मक सन्देश दिएको छ।

Leave A Reply

Your email address will not be published.