भन्सार छलीका सामान ओसारपसारमा सशस्त्र प्रहरीको कडाइ, १६ लाखको सामान बरामद
वीरगञ्ज, २८ कात्तिक आनन्द पटेल ।
सशस्त्र प्रहरी बल, नेपाल पर्साले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका १६ लाख रुपैयाँ भन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरी भन्सार दाखिला गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा तथा मातहतका कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच तथा विशेष सूचनाका आधारमा उक्त सामान बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छली विभिन्न सवारीसाधनमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको १ लाख ४३ हजार ४५१ रुपैयाँ बराबरको भिटामिन तथा औषधि बरामद गरिएको छ। त्यसैगरी, बिन्दवासिनी गाउँपालिका–३ झौवागुठीस्थित बीओपी अमरपट्टीबाट खटिएको टोलीले १ लाख १ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको छ।
यस्तै, पर्सा र बारा जिल्लाको सीमा नजिकै रहेको एक छाप्रोमा भन्सार छली ल्याइएका कपडा लुकाइछिपाइ राखिएको विशेष सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा र नं. १२ गण बाराबाट खटिएको संयुक्त टोलीले खानतलासी गरेको थियो। सो क्रममा ९ लाख ७० हजार रुपैयाँ बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी, मातहतका कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट ४ लाख ५ हजार ५९० रुपैयाँ बराबरका मोटरसाइकलका सामान, औषधि, तरकारी, जुत्ता, अगरबत्ती, नरिवललगायतका सामग्री बरामद गरेको छ।
बरामद गरिएका सम्पूर्ण अवैध सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यता, बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको १२ हजार रुपैयाँ बराबरको ६० लिटर घरेलु मदिरासमेत बरामद गरेको छ। उक्त मदिरा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज क्षेत्रीले जानकारी दिएका छन्।