वीरगञ्जको क्यासिनोमा प्रहरीको छापा, नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
AI बाट निर्मित तस्वीर-
वीरगञ्ज, ४ कात्तिक । पर्साको वीरगञ्ज स्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेल्ने तथा खेलाउने गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका–१४, गण्डक स्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने काम भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सोमबार साँझ करिब ७ः३० बजे क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलिरहेको तथा खेलाइरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–४ का ४८ वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–८ का ४९ वर्षीय अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवास कुमार, परवानीपुर गाउँपालिका–५ का ३५ वर्षीय सुनिल पटेल र रौतहटको बौधिमाई नगरपालिका–९ का ५० वर्षीय सुमेश्वरनाथ प्रसाद रहेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।