वीरगञ्जमा ब्राउन सुगर र गाँजा सहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

19

वीरगञ्ज आनन्द पटेल।

पर्साको वीरगञ्ज स्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजा सहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार असोज २५ गते वीरगञ्ज महानगरपालिका–१६ स्थित मितेरी पुलमा खटिएको सशस्त्र प्रहरीको डग स्क्वाड र बोर्डर इन्टरएक्सन टिम (बीआईटी) को संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बाराको विश्रामपुर गाउँपालिका–५ नर्कटुवा निवासी १८ वर्षीय शेख सहजातलाई शंकाका आधारमा जाँच गरेको थियो।

जाँचका क्रममा उनले कुरकुरेको प्याकेटभित्र कालो प्लास्टिकमा लुकाएर राखेको ४ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन मितेरी पुलमा खटिएको बीआईटी टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका बाराको बारागढी गाउँपालिका–३ निवासी ४१ वर्षीय जमिल अख्तर मियाँलाई नियन्त्रणमा लिएको थियो। उनको झोलामा लुकाएर लैजाँदै गरेको ४ किलो ८५ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

दुवै जनालाई बरामद लागूऔषध सहित आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले जनाएको छ।

Leave A Reply

Your email address will not be published.