हिसान पर्साको वक्तृत्वकला प्रतियोगितामा ब्राइटकी आरती प्रथम, ओम नेसनलकी निकिता द्वितीय र सनलाइटकी मुस्कान तृतीय
वीरगञ्ज आनन्द पटेल । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) पर्साको ३०औँ वार्षिकोत्सवको अवसरमा बिहीबार वीरगञ्जमा अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ब्राइट स्कुलकी आरती कुमारी यादव प्रथम भएकी छन्।
वीरगञ्ज स्थित ममता विद्या मन्दिर प्लस टु कलेजमा आयोजित प्रतियोगितामा कक्षा ११ र १२ का सात विद्यालयका १४ जना विद्यार्थीले सहभागिता जनाएका थिए। सहभागी विद्यार्थीहरूले विभिन्न विषयमा आफ्ना विचार, तर्क र धारणा प्रस्तुत गर्दै वक्तृत्वकला प्रदर्शन गरेका थिए।
प्रतियोगितामा ब्राइट स्कुलकी आरती कुमारी यादव प्रथम, ओम नेसनल एकेडेमीकी निकिता यादव द्वितीय र सनलाइट स्कुलकी मुस्कान बर्मा तृतीय भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका शिक्षा प्रमुख आनन्द लामिछानेले विद्यार्थीको शैक्षिक विकासमा पाठ्य पुस्तकको ज्ञानसँगै अतिरिक्त क्रियाकलापको पनि उत्तिकै महत्त्व रहने बताए। यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास, तार्किक क्षमता र सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने सीप विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
विशिष्ट अतिथि प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले विद्यार्थीको प्रतिभा पहिचान र प्रस्फुटनका लागि विद्यालयहरूले पठनपाठनसँगै सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए। विद्यार्थीलाई सानै उमेरदेखि आफ्नो विचार स्पष्ट रूपमा राख्न सक्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रमका अध्यक्ष तथा हिसान पर्साका अध्यक्ष मुकेश गुप्ताले संस्थाको ३०औँ वार्षिकोत्सवलाई विद्यार्थीको प्रतिभा र क्षमता उजागर गर्ने अवसरका रूपमा लिइएको बताए। विद्यार्थीको शैक्षिक गुणस्तरसँगै नेतृत्व क्षमता, आत्मविश्वास र अभिव्यक्ति सीप विकास गर्न हिसानले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ थियो।
कार्यक्रममा विशिष्ट अतिथि वीनोद उपाध्याय, जीयालाल गुप्ता, विश्वास साह लगायत शिक्षा क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताको निर्णायकका रूपमा ठाकुरराम बहुमुखी क्याम्पसका उपप्राध्यापक इन्द्रप्रसाद भट्टराई रहेका थिए।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सूर्य शुभचिन्तकले गरेका थिए भने व्यवस्थापनको जिम्मेवारी आलोक चौरसिया र अखिल पटेलले सम्हालेका थिए।
विद्यार्थीहरूको वक्तृत्वकला, तथा अभिव्यक्ति क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हिसान पर्साले जनाएको छ। प्रतियोगिताले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै विद्यालयबीच शैक्षिक तथा सिर्जनात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।