दिव्य विकास स्रोत केन्द्र र एक्सनएड नेपालको पहलमा छात्रामैत्री भलिबल, निचुटा बन्यो च्याम्पियन
पटेर्वा सुगौली, पर्सा। पटेर्वा सुगौली गाउँपालिकामा आयोजित माध्यमिक विद्यालयस्तरीय छात्रामैत्री भलिबल प्रतियोगिताको उपाधि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटाले जितेको छ। फाइनल खेलमा निचुटाले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, रंगपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।
दिव्य विकास स्रोत केन्द्र, पर्सा र एक्सनएड नेपालको संयुक्त साझेदारी तथा पटेर्वा सुगौली गाउँपालिकाको सहकार्यमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गरिएको थियो।
दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न फाइनल खेल तथा पुरस्कार वितरण समारोहमा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरी प्रमुख अतिथि र उपाध्यक्ष ममता महतो विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
प्रतियोगितामा विजेता निचुटा र उपविजेता रंगपुर विद्यालयका टोलीलाई गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष महतो तथा दिव्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक कुर्मीले मेडल, ट्रफी र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।
कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य साजिना विक रसैली, दिव्य विकास स्रोत केन्द्रकी कार्यक्रम संयोजक रीना चौधरी, वित्त तथा प्रशासन संयोजक श्यामकिशोर प्रसाद चौहानलगायतको उपस्थिति थियो। प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी भएका थिए।
प्रतियोगिताको मुख्य उद्देश्य छात्राहरूको खेलकुदप्रतिको रुचि र क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन र आपसी सहकार्यको भावना विकास गर्नु रहेको आयोजकले जनाएको छ।
विद्यालय तहमा छात्राहरूको खेलकुद सहभागिता बढाउँदै लैङ्गिक समानता प्रवर्द्धन र छात्रामैत्री शैक्षिक वातावरण निर्माणमा प्रतियोगिताले योगदान पुर्याउने आयोजकको विश्वास छ।
दिव्य विकास स्रोत केन्द्र, पर्साले स्थानीय अधिकार कार्यक्रममार्फत बालबालिका तथा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण, समावेशी शिक्षा र लैङ्गिक समानताको प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।