बिलबिजकबिनाका ६३ थान मोबाइल सहित चितवनबाट दुई जना पक्राउ
चितवन, २० असोज । राजस्व छली गरी बिक्री तथा ओसारपसारका लागि राखिएका बिलबिजकबिनाका ६३ थान मोबाइल तथा उपकरणसहित प्रहरीले चितवनबाट दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार असोज १८ गते भरतपुर महानगरपालिका–१० हाकिमचोकस्थित ‘दीपक मोबाइल’ पसलमा छापा मार्दा बिलबिजक नभएका ५८ थान मोबाइल तथा उपकरण बरामद गरिएको हो।
पसल सञ्चालक ४१ वर्षीय दीपक प्रसाईंलाई पक्राउ गरी खानतलासी गर्दा विभिन्न सिरिजका ५० थान एप्पल आइफोन, चार थान सामसुङ, दुई थान रेडमी, एक थान भिभो मोबाइल र एक थान एप्पल आइप्याड फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, भरतपुर महानगरपालिका–१ रामनगर क्षेत्रमा अवैध रूपमा मोबाइल ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले २८ वर्षीय उमनन्द भुसाललाई पनि पक्राउ गरेको छ। उनको साथबाट बिलबिजक नभएका सामसुङ कम्पनीका पाँच थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार बरामद ६३ थान मोबाइल तथा उपकरणसहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान तथा भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको छ।