दिव्य विकास स्रोत केन्द्रको सहकार्यमा विद्यालय सुधार योजना सम्बन्धी अभिमुखीकरण, समावेशी शिक्षामा जोड

8

वीरगञ्ज, पर्सा आनन्द पटेल।

युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन निड (PIN), अकाउन्टेबिलिटी ल्याब नेपाल, राष्ट्रिय शिक्षा अभियान नेपाल (NCE Nepal) र नेपाल अपाङ्ग महिला संघ (NDWA) को सहकार्य तथा दिव्य विकास स्रोत केन्द्र (DDRC), पर्साको संयुक्त साझेदारीमा सञ्चालित पहुँच परियोजना (ACCESS Project) अन्तर्गत पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालय सुधार योजना (SIP) सम्बन्धी अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ।

पटेर्वा सुगौली गाउँपालिका अन्तर्गतका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, रंगपुर; नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सुगौली दा.प. र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटाका विद्यालय प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सोलेन्द्र पञ्जियारले विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्दा सबै बालबालिकाको पहुँच, सहभागिता र आवश्यकतालाई समेट्नुपर्नेमा जोड दिए। उनले विद्यालय सुधार योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताए।

कार्यक्रममा तीनवटै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक–अभिभावक संघका प्रतिनिधि तथा सूचना प्रविधिसम्बन्धी कार्य गर्ने शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई विद्यालय सुधार योजनालाई समावेशी, सहभागितामूलक तथा विद्यालयको वास्तविक आवश्यकता र प्राथमिकतामा आधारित बनाउने विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो।

अभिमुखीकरणपछि तीनवटै विद्यालयका प्रतिनिधिहरूले असोज मसान्तभित्र विद्यालय सुधार योजनालाई समावेशी दृष्टिकोणबाट अद्यावधिक गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसबाट विशेषगरी पछाडि पारिएका तथा सीमान्तकृत समुदायका बालबालिकाको आवश्यकता र सहभागितालाई विद्यालयको योजनामा समेट्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको सहजीकरण दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले गरेका थिए। कार्यक्रममा अकाउन्टेबिलिटी ल्याब नेपालका प्रतिनिधि अकलेश कुमार साह तथा दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यक्रम जिम्मेवार अमित कुमार राउतले सहजीकरण तथा समन्वयमा सहयोग गरेका थिए।

कार्यक्रमबाट विद्यालयका सरोकारवालाहरूलाई समावेशी विद्यालय सुधार योजनाको आवश्यकता, प्रक्रिया तथा प्रभावकारी कार्यान्वयनबारे थप स्पष्टता प्राप्त भएको आयोजकले जनाएको छ। तीनवटै विद्यालयले समावेशी विद्यालय सुधार योजना अद्यावधिक गर्ने प्रतिबद्धता जनाउनुलाई कार्यक्रमको प्रमुख उपलब्धिका रूपमा लिइएको छ।

Leave A Reply

Your email address will not be published.