विद्यार्थीमा लोक संस्कृतिको जागरण गराउँदै प्याब्सन पर्सा र प्याब्सन वीरगञ्ज, पुस १ गते लोकनृत्य प्रतियोगिता
वीरगञ्ज आनन्द पटेल।
विद्यार्थीहरूमा नेपाली कला, संस्कृति र मौलिक लोकपरम्परा प्रति रुचि बढाउने उद्देश्यले वीरगञ्जमा अन्तर विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता आयोजना हुने भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्सा र प्याब्सन वीरगञ्जको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाका अनुसार प्रतियोगिता आगामी पुस १ गते बिहान १० बजेदेखि वीरगञ्ज स्थित टाउनहलमा सञ्चालन हुने छ । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले आ–आफ्नो लोकनृत्य प्रस्तुत गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने प्रत्येक समूहका लागि नृत्य प्रस्तुतिको समय न्यूनतम ४ मिनेट र अधिकतम ५ मिनेट तोकिएको आयोजकले जनाएको छ ।
विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गर्नुका साथै नेपाली कला, संस्कृति, मौलिक पहिचान र लोक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ ।