वीरगञ्ज । एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) मधेस प्रदेश र वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच स्वास्थ्य सेवामा विशेष सहुलियत उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।
अपेन मधेस प्रदेशसँग आबद्ध विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, विद्यालय सञ्चालक, संस्थाका सदस्य तथा सरोकारवालाहरूलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त समझदारी गरिएको हो।
सम्झौता अनुसार अपेन मधेस प्रदेशसँग आबद्ध विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका, विद्यालय सञ्चालक तथा अन्य सदस्यहरूले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवा र उपचारमा विशेष छुट तथा प्राथमिकता प्राप्त गर्नेछन्। यसबाट अपेनसँग आबद्ध शैक्षिक संस्थाका सदस्य तथा उनीहरूका परिवारलाई स्वास्थ्य उपचारमा आर्थिक सहुलियत पुग्ने अपेक्षा गरिएको छ।
शिक्षा र स्वास्थ्यलाई एकअर्काका परिपूरक क्षेत्रका रूपमा लिँदै गरिएको यस सहकार्यले प्रारम्भिक बालशिक्षामा संलग्न जनशक्ति, विद्यार्थी तथा अभिभावकको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ। विशेषगरी विद्यालयसँग प्रत्यक्ष रूपमा जोडिएका शिक्षक, कर्मचारी तथा अभिभावकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गर्न सम्झौता महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

अपेन मधेस प्रदेशले शिक्षा क्षेत्रसँग आबद्ध समुदायको हित, स्वास्थ्य सुरक्षा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्य तथा शैक्षिक संस्थासँग संस्थागत सहकार्य विस्तार गर्दै आएको जनाएको छ। नेशनल मेडिकल कलेजसँग भएको यो समझदारीलाई सोही अभियानको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
अपेन मधेस प्रदेशले सम्झौता कार्यान्वयनमा सहयोग पुर्याएकोमा नेशनल मेडिकल कलेजको व्यवस्थापन पक्षप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा तथा स्वास्थ्य क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
सम्झौताअन्तर्गत उपलब्ध हुने स्वास्थ्य सेवा, विशेष छुट तथा अन्य सुविधाबारे विस्तृत जानकारी लिन इच्छुक अपेनका सदस्य तथा सरोकारवालाहरूले अपेन पर्साका जिल्ला सचिव अजय बालसँग सम्पर्क गर्न सक्ने जनाइएको छ।
यस सहकार्यले शिक्षा क्षेत्रमा आबद्ध समुदायलाई स्वास्थ्य उपचारमा राहत पुर्याउनुका साथै वीरगञ्जमा शिक्षा र स्वास्थ्य संस्थाबीचको संस्थागत सहकार्यलाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको छ।