भारतको आदापुरमा लुकेका वीरगञ्ज कारागारका फरार कैदी पाँच घण्टामै समातिए

31

वीरगञ्ज, २६ कात्तिक आनन्द पटेल।

पर्साको वीरगञ्ज कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भागेको करिब पाँच घण्टाभित्रै पक्राउ गरेको छ।

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पर्साको पोखरिया नगरपालिका–४ सखुवरियाका ३० वर्षीय सुनिल साह तुरहालाई प्रहरीले भारतको बिहार स्थित मोतिहारी जिल्लाको आदापुर थाना क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार बुधबार बिहान करिब ८ बजेर २० मिनेटको समयमा कारागारको प्यारोल शाखाको पर्खाल छेउबाट साह भागेर फरार भएका थिए। उनी फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले खोजी तथा अनुसन्धान तीव्र बनाएको थियो।

खोजीका क्रममा नेपाल–भारत सीमावर्ती क्षेत्र भारतको बिहार राज्यस्थित मोतिहारी जिल्लाको आदापुर थाना क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले फरार कैदीलाई पाँच घण्टाभित्रै पक्राउ गरिएको जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.