सशस्त्र प्रहरी बल नं. १३ गण पर्साको कारबाही: ४४ लाखभन्दा बढीको अवैध सामान बरामद, ३ लाखको पटाका नष्ट

31

वीरगञ्ज, कार्तिक ८ गते आनन्द पटेल।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले जिल्लाका विभिन्न स्थानीय तह तथा सीमा क्षेत्रबाट ४४ लाख रुपैयाँ भन्दा बढी मूल्यका अवैध सामान बरामद गरी भन्सार दाखिला गरेको छ। साथै, तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याइएका तीन लाख रुपैयाँ बराबरका प्रतिबन्धित पटाका नियन्त्रणमा लिई नष्ट गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका अनुसार विभिन्न मितिमा खटिएका टोलीले भारतबाट भन्सार छली विभिन्न सवारीसाधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेका तथा सीमावर्ती क्षेत्रमा बेवारिसे अवस्थामा रहेका सामान बरामद गरेका हुन्।

कार्तिक ८ गते बरामद गरिएका सामानमध्ये सात लाख १० हजार ५२० रुपैयाँ बराबरका कपडा, कस्मेटिक तथा किराना सामान रहेका छन्। त्यस्तै, कार्तिक ६ गते बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठ्ठा स्थित बीओपी प्रसौनीबाट खटिएको टोलीले जाँचका क्रममा बा.६३ प ६८१५ नम्बरको मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको १८ लाख ४१ हजार ५०० रुपैयाँ बराबरका मोबाइल पार्ट्स बरामद गरेको थियो। सोही बीओपीबाट खटिएको अर्को टोलीले ५९ हजार ४० रुपैयाँ बराबरका कपडा तथा मोटरपार्ट्ससमेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

यसैगरी, कार्तिक ७ गते वीरगञ्ज महानगरपालिका–२५, खल्वास्थित बीओपी ड्राईपोर्टबाट खटिएको पैदल गस्ती टोलीले सीमा क्षेत्रमा रहेको धान खेतबाट बेवारिसे अवस्थामा आठ लाख १७ हजार ६८० रुपैयाँ बराबरका मानिसले प्रयोग गर्ने विभिन्न प्रकारका औषधि तथा अन्य सामान फेला पारेको थियो।

सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले विभिन्न मितिमा तीन लाख पाँच हजार ६२० रुपैयाँ बराबरका खरबुजाको बीउ, तोरी तथा कपडा बरामद गरेको छ। त्यसैगरी, सीमा सुरक्षा गुल्म वीरगञ्जबाट एक लाख ८४ हजार रुपैयाँ बराबरका कपडा तथा इलेक्ट्रोनिक्स सामान र बीओपी सिर्सियाबाट परिचालित टोलीले दुई लाख १६ हजार रुपैयाँ बराबरका कपडा बरामद गरेका छन्।

बरामद गरिएका अवैध सामान आवश्यक कारबाहीका लागि कार्तिक ८ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै, तिहार तथा छठ पर्वका अवसरमा प्रतिबन्धित पटाकाको अवैध ओसारपसार तथा प्रयोग नियन्त्रण गर्ने अभियानअन्तर्गत पर्सा जिल्लाका विभिन्न स्थानबाट तीन लाख रुपैयाँ बराबरका पटाका नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज क्षेत्रीले अवैध भन्सार छली तथा प्रतिबन्धित विस्फोटक पदार्थको ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको जनाएका छन्।

Leave A Reply

Your email address will not be published.