धोबिनीमा ‘शिक्षा साथ अभियान’ अन्तर्गत निःशुल्क कक्षा सञ्चालन सुरु
पर्सा, कार्तिक ८।
आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले Human Love Charity Fund ले सञ्चालन गर्दै आएको ‘शिक्षा साथ अभियान’ अन्तर्गत पर्साको धोबिनी गाउँपालिका–५, धोबिनी टोलमा निःशुल्क कक्षा सञ्चालन कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ।
संस्थाका प्रमुख सल्लाहकार मुकेश प्रसाद पटेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा धोबिनी गाउँपालिका–५ का वडा अध्यक्ष मनौवर अहमद प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमको उद्घोषण संस्थाका सदस्य विकास कुमार साहले गरेका थिए भने संस्थाका वित्तीय प्रमुख सल्लाहकार एमडी खालिद जियाले उद्घाटन सत्रमा मन्तव्य राखेका थिए।
अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न शिक्षिका अमृता कुमारी साह र अस्मिता कुमारी साहले संस्थासँग सहकार्य गर्दै बालबालिकालाई निःशुल्क शिक्षण सेवा प्रदान गर्ने जिम्मेवारी लिएका छन्। कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, संस्थाका सदस्य तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
Human Love Charity Fund ले शिक्षा, स्वास्थ्य, गरिब तथा असहाय परिवारलाई सहयोग र विपद् प्रभावितलाई राहत उपलब्ध गराउनेलगायतका सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाका अनुसार हालसम्म चार सयभन्दा बढी परिवारलाई सहयोग पुर्याइसकिएको छ।
शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले अघि बढाइएको ‘शिक्षा साथ अभियान’ अन्तर्गत आगामी दिनमा आवश्यकताका आधारमा विभिन्न गाउँ, टोल तथा सहरमा निःशुल्क कक्षा सञ्चालन गरिने संस्थाले जनाएको छ।
विशेषगरी प्रारम्भिक तहका बालबालिकाको सिकाइ क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित सञ्चालन गरिने कक्षामा सहभागी विद्यार्थीलाई संस्थाको तर्फबाट निःशुल्क कापी, किताब, कलम तथा अन्य आवश्यक शैक्षिक सामग्रीसमेत उपलब्ध गराइनेछ। उक्त कक्षामा सहभागी हुन विद्यार्थीले कुनै शुल्क तिर्नुपर्ने छैन।
शिक्षामा गरिएको सहयोग बालबालिकाको भविष्य निर्माणमा गरिएको लगानी भएको उल्लेख गर्दै संस्थाले यस अभियानमार्फत शिक्षाप्रति जागरूकता फैलाउने, बालबालिकालाई सिकाइमा प्रोत्साहित गर्ने र समाजमा शिक्षामैत्री वातावरण निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।