रक्तदान भन्दा ठूलो सामाजिक कार्य अरू छैन : विजयकुमार सरावगी

57

वीरगञ्ज आनन्द पटेल ।

श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ४ महिला सहित २६ जनाले रक्तदान गरेका छन्।

वीरगञ्ज महानगरपालिकाका प्रथम मेयर विजयकुमार सरावगीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष धुरन प्रसाद कुर्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरावगीले रक्तदान भन्दा ठूलो सामाजिक तथा मानवीय कार्य अरू हुन नसक्ने बताए। उनले रक्तदानबाट आवश्यक परेको समयमा बिरामीको जीवन बचाउन सकिने उल्लेख गर्दै यसलाई मानव सेवाको उत्कृष्ट उदाहरणका रूपमा लिनुपर्ने धारणा राखे। स्वस्थ व्यक्तिहरूलाई नियमित रक्तदान गर्न आग्रह गर्दै उनले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

पछिल्लो समय सरावगी विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रममा सक्रिय रूपमा सहभागी हुँदै आएका छन्। सामाजिक कार्यमा उनको उपस्थिति र सहयोग समेत बढ्दै गएको देखिन्छ। समाजमा सकारात्मक परिवर्तन ल्याउन सामाजिक सेवाका गतिविधिमा सबैको सहभागिता र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा सन्तोष पटेल, कलावती देवी, आरती पटेल, छठु प्रसाद कुर्मी, वीरेन्द्र महरालगायतले रक्तदान गरेका थिए।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, हिन्दूवादी नेता सन्तोष पटेल, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ पाण्डे, समाजसेवी हरेन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो। संस्थाका सचिव मुकेश पटेल, कोषाध्यक्ष मुनेश पटेल तथा अन्य सदस्यहरूको समेत सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.