पटेर्वा सुगौलीमा लागुऔषध र मदिराविरुद्ध युवाको हुंकार, ३०० भन्दा बढीलाई सचेत
पर्सा। युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवाको नेतृत्वमा सचेतनामूलक अभियान सम्पन्न भएको छ।
दिव्य विकास स्रोत केन्द्र (DDRC), पर्सा र एक्शनएड नेपालको साझेदारीमा सञ्चालित युवा लक्षित कार्यक्रमअन्तर्गत गाउँपालिकाका सबै वडामा अभियान सञ्चालन गरिएको हो। इलाका प्रहरी कार्यालयसँगको समन्वय तथा सहकार्यमा आयोजित कार्यक्रममा ३०० भन्दा बढी युवा, किशोरी, बालबालिका, महिला तथा पुरुषको सहभागिता रहेको थियो।
अभियान मार्फत मदिरा तथा लागुऔषध दुर्व्यसनले परिवार र समाजमा निम्त्याउने झैझगडा, घरेलु कलह, हिंसा तथा विभिन्न सामाजिक विकृतिबारे समुदायका सदस्यलाई सचेत गराइएको थियो।
युवालाई दुर्व्यसनबाट जोगाउन अभिभावक, स्थानीय सरकार, नेपाल प्रहरी, महिला अधिकार मञ्च तथा समुदायका सदस्यबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा कार्यक्रमले जोड दिएको छ।
अभियानका क्रममा समुदायमा अवैध रूपमा मदिरा बिक्री–वितरण तथा सेवन गर्ने गतिविधिको निगरानी र नियन्त्रणका लागि स्थानीय सरकार, नेपाल प्रहरी, युवा, अभिभावक तथा महिला अधिकार मञ्चका सदस्यहरूले संयुक्त रूपमा पहल गर्ने सहमति गरेका छन्।
त्यसैगरी, युवालाई दुर्व्यसनबाट टाढा राख्न निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उनीहरूलाई सकारात्मक सामाजिक गतिविधिमा सहभागी गराउने तथा नेतृत्व क्षमता विकास गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
अभियानका क्रममा समुदायमा अवैध रूपमा मदिरा बिक्री–वितरण तथा सेवन गर्ने गतिविधिको निगरानी र नियन्त्रणका लागि स्थानीय सरकार, नेपाल प्रहरी, युवा, अभिभावक तथा महिला अधिकार मञ्चका सदस्यहरूले संयुक्त रूपमा पहल गर्ने सहमति गरेका छन्।
त्यसैगरी, युवालाई दुर्व्यसनबाट टाढा राख्न निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उनीहरूलाई सकारात्मक सामाजिक गतिविधिमा सहभागी गराउने तथा नेतृत्व क्षमता विकास गर्ने विषयलाई प्राथमिकता दिइएको छ।
अभियानबाट ३०० भन्दा बढी व्यक्तिलाई मदिरा तथा लागुऔषध दुर्व्यसनविरुद्ध सचेत गराउनुका साथै सामाजिक तथा सांस्कृतिक विकृतिविरुद्ध सामुदायिक सहभागिता बढाउन सहयोग पुगेको आयोजकले जनाएको छ।
यस अभियानले युवालाई दुर्व्यसनबाट जोगाउन, परिवार तथा समुदायमा शान्तिपूर्ण वातावरण निर्माण गर्न र सामाजिक विकृति न्यूनीकरणमा सामूहिक जिम्मेवारी अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।