नेपाल टेलिकमको सस्तो इन्टरनेट प्याकेज सार्वजनिक, वार्षिक ४ हजार ९९९ रुपैयाँमै ३० एमबीपीएस

29

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले वार्षिक ४ हजार ९९९ रुपैयाँमै ३० एमबीपीएस गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । टेलिकमले आजदेखि लागू हुने गरी सहुलियत दरका नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको हो ।

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूले सस्तो दरका इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरिरहेका बेला नेपाल टेलिकमले भने ग्राहकलाई लक्षित गर्दै नयाँ प्याकेज सञ्चालनमा ल्याएको हो ।

टेलिकमका अनुसार ‘फाइबर टु द होम’ (एफटीटीएच) अन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ प्रविधिमा आधारित नयाँ प्याकेज उपलब्ध हुनेछ । यसअन्तर्गत वार्षिक ४ हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस, ११ हजार ४९९ रुपैयाँमा १०० एमबीपीएस र १२ हजार ९९९ रुपैयाँमा १५० एमबीपीएस गतिको इन्टरनेट तथा टेलिफोन प्याकेज उपलब्ध गराइनेछ ।

त्यसैगरी, २०० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको वार्षिक शुल्क १६ हजार ४९९ रुपैयाँ तोकिएको छ ।

टेलिकमले वार्षिक प्याकेज लिने ग्राहकलाई दैनिक ८०० देखि १ हजार एमबीसम्म मोबाइल डाटा निःशुल्क उपलब्ध गराउने जनाएको छ । नयाँ प्याकेज जडान गर्ने ग्राहकलाई ५ हजार रुपैयाँको जडान शुल्कसमेत नलाग्ने व्यवस्था गरिएको छ ।

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार यी सबै प्याकेज आजदेखि लागू भएका छन् ।

Leave A Reply

Your email address will not be published.