सनसाइन बोर्डिङ स्कुलमा दसैँको शुभकामना साटासाट, सांस्कृतिक एकतामा जोड
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१४, पिपरास्थित सनसाइन बोर्डिङ स्कुलमा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयकी प्रिन्सिपल श्रीनिधि कुमारीको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयका सञ्चालक अमित आलोकले शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण नेपालीलाई विजयादशमीको शुभकामना व्यक्त गर्नुभयो।
उहाँले दुर्गा माताको आशीर्वादले सबैका दुःख–कष्ट हटून् र हरेक परिवारमा सुख, शान्ति, समृद्धि तथा खुसी छाओस् भन्ने कामना गर्नुभयो। विजयादशमीले सबैको जीवनमा सकारात्मक ऊर्जा, नयाँ उत्साह र उमङ्ग थप्ने विश्वास व्यक्त गर्दै उहाँले चाडपर्वलाई आपसी प्रेम, सद्भाव र एकताको प्रतीकका रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा जगत समाचारका सञ्चालक जगत राई, क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल, महासचिव राकेश साहलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले विजयादशमी नेपालीहरूको महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व भएको उल्लेख गर्दै यसले समाजमा आपसी सद्भाव, भाइचारा, एकता र सहिष्णुतालाई थप मजबुत बनाउने बताउनुभयो। चाडपर्वले परिवार तथा समुदायबीच आत्मीयता बढाउनुका साथै सामाजिक सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँहरूको भनाइ थियो।
वक्ताहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेपाली संस्कृति, परम्परा र चाडपर्वको महत्त्वबारे जानकारी दिनुका साथै सामाजिक तथा सांस्कृतिक मूल्यमान्यताको संरक्षणमा समेत सहयोग पुग्ने धारणा राख्नुभयो।
विद्यालयले आयोजना गरेको कार्यक्रमले शिक्षक, विद्यार्थी, अभिभावक तथा उपस्थित अतिथिबीच आपसी सद्भाव, आत्मीयता र एकताको भावना अभिवृद्धि गर्न सहयोग पुर्याएको विद्यालयले जनाएको छ।
कार्यक्रमको सहजीकरण विद्यालयका कोअर्डिनेटर सन्दीपले गर्नुभएको थियो।