जीवन ज्योति माविका १५ क्रिकेट खेलाडीलाई खेलकुद सामग्री र पोसाक वितरण
वीरगञ्ज आनन्द पटेल ।
वीरगञ्ज स्थित जीवन ज्योति माध्यमिक विद्यालयले क्रिकेट खेलप्रति विद्यार्थीहरूको आकर्षण बढाउने तथा उनीहरूलाई खेल क्षेत्रमा अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्यले १५ जना क्रिकेट खेलाडीलाई खेलकुद सामग्री सहित क्रिकेट पोसाक वितरण गरेको छ। बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा खेलाडीहरूलाई क्रिकेट खेलका लागि आवश्यक सामग्री तथा पोसाक प्रदान गरिएको हो।
विद्यालयका प्रधानाध्यापक शिव गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा क्रिकेट क्षेत्रसँग आबद्ध व्यक्तित्व, विद्यालयका पदाधिकारी, शिक्षक, प्रशिक्षक, पत्रकार तथा खेलाडीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले क्रिकेट अहिले खेलका रूपमा मात्र सीमित नरही करियर निर्माण गर्ने महत्त्वपूर्ण माध्यम समेत बनिसकेको बताए। उनले खेलाडीहरूलाई क्रिकेट प्रति गम्भीर, अनुशासित र प्रतिबद्ध भएर लाग्न आग्रह गरे। निरन्तर अभ्यास, मेहनत र लगनशीलताले खेलाडीलाई सफलताको बाटोमा अघि बढाउन सक्ने उनको भनाइ थियो।
सिंहले भगवान् गौतम बुद्ध, सगरमाथा र क्रिकेटको लोकप्रियताले विश्वमा नेपालको पहिचान स्थापित गर्न योगदान पुर्याइरहेको उल्लेख गरे। क्रिकेट प्रति नेपाली दर्शकको बढ्दो आकर्षण र अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीले देखाएको प्रदर्शनले यस क्षेत्रको सम्भावना थप उजागर गरेको उनले बताए।
उनले जिल्ला स्तरबाट आफ्नो खेल यात्रा सुरु गरेका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रदेश र राष्ट्रिय स्तरसम्म पुग्ने अवसर रहेको उल्लेख गरे। क्रिकेटमा प्रतिभा, अनुशासन र निरन्तर मेहनतका आधारमा अघि बढ्न सके खेलाडीहरूले आफ्नो भविष्य निर्माण गर्नुका साथै आर्थिक रूपमा समेत आत्मनिर्भर बन्न सक्ने उनले बताए। त्यसका लागि विद्यालय तहदेखि नै खेलाडीको क्षमता विकास, नियमित प्रशिक्षण र आवश्यक खेल सामग्रीको उपलब्धता महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
त्यस्तै, विद्यालयका प्रधानाध्यापक शिव गुप्ताले खेलाडीहरूलाई अनुशासनमा रहेर खेल्न तथा अग्रज प्रशिक्षकहरूको सुझाव र निर्देशनलाई ध्यानपूर्वक पालना गर्न आग्रह गरे। खेल क्षेत्रमा सफलता हासिल गर्न प्रतिभा मात्र पर्याप्त नहुने भन्दै उनले निरन्तर अभ्यास, मेहनत, धैर्य र अनुशासन पनि उत्तिकै आवश्यक रहेको बताए।
विद्यालयले खेलाडीहरूलाई आवश्यक सामग्री र पोसाक उपलब्ध गराएपछि उनीहरूको खेल प्रदर्शनमा थप सुधार आउने विश्वास व्यक्त गर्दै प्रधानाध्यापक गुप्ताले आगामी दिनमा विद्यालयका क्रिकेट खेलाडीहरूले राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए। खेलाडीहरूलाई प्रोत्साहन गर्दै उनीहरूको क्षमता विकासमा विद्यालयले सकारात्मक भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।
विद्यालयबाट खेलाडीहरूलाई खेलकुद सामग्री तथा पोसाक वितरण गरिनुले विद्यार्थीहरूलाई क्रिकेटप्रति थप उत्साहित बनाउने अपेक्षा गरिएको छ। विद्यालय तहबाटै खेलकुदको विकास र प्रतिभावान् खेलाडीको पहिचान गर्न सके भविष्यमा सक्षम क्रिकेट खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा क्रिकेटको केन्द्रीय छनोट समितिका सदस्य मुर्तुजा हावरी, राष्ट्रिय अम्पायर सतीश सिंह राजपूत, विद्यालयका निर्देशक मीनाक्षी गुप्ता, व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेकी कामाक्षी गुप्ता, शिक्षक लालबाबु यादव, क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल, पत्रकार दिपु बर्नवाल, क्रिकेटका मुख्य प्रशिक्षक प्रदीप तिवारी तथा कप्तान सागर यादव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उज्ज्वल घिमिरेले गरेका थिए।