१५ दिने शिशुको मृत्युपछि नेशनल मेडिकल कलेजको स्पष्टीकरण, अक्सिजन अभावको आरोप अस्वीकार
वीरगञ्ज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा उपचाररत १५ दिने शिशुको निधनप्रति दुःख व्यक्त गर्दै उपचारमा कुनै लापरबाही नभएको र अक्सिजन अभावको आरोप निराधार रहेको दाबी गरेको छ।
अस्पतालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवार प्रति समवेदना व्यक्त गरेको छ। साथै, शिशुको उपचार प्रक्रिया, स्वास्थ्य अवस्था र निधन हुनु अघिको घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।
अस्पतालका अनुसार २०८३ कात्तिक २९ गते साँझ शिशुलाई तीन दिनदेखि ज्वरो आउने, शरीर पहेँलो हुने र अस्पताल ल्याउनु अघि पटकपटक कम्पन आउने समस्या देखिएपछि आकस्मिक कक्षमा ल्याइएको थियो। परीक्षण गर्दा रगतमा बिलिरुबिनको मात्रा २६.४ एमजी/डीएल पाइएको थियो। शिशुको अवस्था गम्भीर रहेकाले विशेषज्ञ चिकित्सकको निगरानीमा सघन उपचार सुरु गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले शिशुलाई फोटोथेरापी, एन्टिबायोटिक, आवश्यक पोषण लगायतका उपचार उपलब्ध गराएको र उपचार सुरु भएको १२ घण्टाभित्र बिलिरुबिनको मात्रा २६.४ बाट घटेर १५.१ एमजी/डीएल पुगेको दाबी गरेको छ।
तर, मंसिर १ गते दिउँसो करिब ३ बजे शिशुको श्वासप्रश्वासमा समस्या देखिनुका साथै मुटुको धड्कन र अक्सिजनको मात्रा घट्न थालेपछि चिकित्सकहरूले सीपीआर, भेन्टिलेटर तथा आवश्यक औषधि मार्फत जीवनरक्षाको प्रयास गरेका थिए। यद्यपि, उपचार सफल हुन नसकेपछि सोही दिन साँझ ५:०५ बजे शिशुको निधन भएको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ।
यसैबीच, शिशुको मृत्यु अस्पतालमा अक्सिजन अभावका कारण भएको भन्ने आरोपप्रति अस्पतालले आपत्ति जनाएको छ। अस्पतालमा केन्द्रीय अक्सिजन प्लान्ट, सिलिन्डर म्यानिफोल्ड, एनआईसीयूका लागि छुट्टै स्थानीय म्यानिफोल्ड र तयारी अवस्थामा अतिरिक्त अक्सिजन सिलिन्डर रहेको दाबी गरिएको छ।
अस्पतालले अप्रमाणित आरोपलाई तथ्यका रूपमा प्रस्तुत नगर्न सञ्चारमाध्यमलाई आग्रह गर्दै घटनाको निष्पक्ष छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, मंसिर २ गते अस्पताल परिसरमा भएको तालाबन्दी तथा विरोध प्रदर्शनका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रवेशमा रोक लगाइएको अस्पतालको दाबी छ। तीनवटा एम्बुलेन्स र अक्सिजन सिलिन्डर बोकेको सवारीसाधनलाई समेत अस्पताल प्रवेश गर्न अवरोध गरिएको तथा बहिरंग सेवा प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ। कर्मचारीमाथि धम्की र दुर्व्यवहार भएको दाबी समेत अस्पतालले गरेको छ।
अस्पतालले पीडित परिवारलाई न्याय माग गर्ने अधिकारको सम्मान गर्ने जनाउँदै विरोधका नाममा आकस्मिक स्वास्थ्य सेवा अवरुद्ध गर्ने, एम्बुलेन्स रोक्ने तथा स्वास्थ्यकर्मीमाथि धम्की दिने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ।
घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक हुनुपर्नेमा जोड दिँदै अस्पतालले बिरामीको उपचार, पारदर्शिता, पेशागत जवाफदेहिता र स्वास्थ्यकर्मीको सुरक्षाप्रति प्रतिबद्ध रहेको जनाएको छ।