पत्रकार राजन कुमार सिंहमाथि आक्रमण, दोषीमाथि कारबाही गर्न प्रेस चौतारी पर्साको माग
वीरगञ्ज । दैनिक जागरण पत्रिकाका सम्पादक तथा प्रेस चौतारी नेपाल पर्साका सदस्य राजन कुमार सिंहमाथि भएको आक्रमणप्रति प्रेस चौतारी नेपाल पर्साले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।
प्रेस चौतारी नेपाल पर्साले विज्ञप्ति जारी गर्दै वीरगञ्ज महानगरपालिका–१५ भेडियाही निवासी भुलन भन्ने प्रितम कुमार शराफ, नरेश भन्ने चन्दन कुमार शराफ, गणेश भन्ने रवि कुमार शराफ, उमेश भन्ने राजन शराफ र राकेश कुमार शराफले संयुक्त रूपमा सिंहमाथि आक्रमण गरेको जनाएको छ।
विज्ञप्ति अनुसार गत कात्तिक ३० गते राति करिब ९ः३० बजे भेडियाही गाउँदेखि हनुमान चोक जाने बाटोमा सिंहमाथि एक्कासि आक्रमण गरी कुटपिट गरिएको थियो। आक्रमणमा उनलाई ज्यानै जाने गरी कुटपिट गरिएको प्रेस चौतारीले दाबी गरेको छ।

घटना व्यक्तिगत रिसइबीका कारण भएको जनाउँदै प्रेस चौतारीले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र संलग्न दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारमाथि हुने आक्रमण र दुर्व्यवहारका घटनालाई गम्भीरता पूर्वक लिन तथा दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।