साना–सावित्रीको कीर्तिमानी साझेदारीमा यू–१९ महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

40

काठमाडौं। एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सिङ्गापुरलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

मलेसियास्थित वाइएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा विकेट नगुमाई १९९ रनको विशाल योगफल तयार गरेको थियो। नेपालले दिएको २०० रनको लक्ष्य पछ्याएको सिङ्गापुर २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रनमा सीमित भयो।

सिङ्गापुरका लागि अंकिता वर्षा राजले सर्वाधिक १९ रन बनाइन्। उनीबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि अनुका दयालले उत्कृष्ट बलिङ गर्दै ३ विकेट हात पारिन्। मनिषा उपाध्याय र रिया शर्माले समान २/२ विकेट लिए भने सोनी पाख्रिनले १ विकेट आफ्नो नाममा लेखाइन्।

यसअघि नेपालको इनिङ्समा ओपनरद्वय साना प्रविण र सावित्री धामीले पहिलो विकेटका लागि अविजित १९९ रनको कीर्तिमानी साझेदारी गरेका थिए। साना प्रविण ७० बलमा १३ चौकासहित ९८ रनमा अविजित रहिन् भने सावित्री धामीले ५३ बलमा १३ चौकाको मद्दतमा अविजित ७८ रन बनाइन्।

सिङ्गापुरले ६ जना बलर प्रयोग गरे पनि नेपालको कुनै पनि विकेट लिन सकेन।

नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारलाई १०५ रनले हराएको थियो भने दोस्रो खेलमा सिङ्गापुरलाई १५१ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

Leave A Reply

Your email address will not be published.