विश्वकप २०२६ विजेतालाई ट्रफीसँगै पहिलोपटक ‘च्याम्पियनसिप औँठी’ पनि प्रदान गरिने

7

एजेन्सी । फिफा विश्वकप २०२६ को विजेता टोलीले यसपटक परम्परागत विश्वकप ट्रफी र स्वर्ण पदकका अतिरिक्त पहिलोपटक च्याम्पियनसिप औँठी’ (Championship Ring) समेत प्राप्त गर्ने भएको छ।

फिफाले बिहीबार यसको घोषणा गर्दै आफ्नो इतिहासमै पहिलोपटक विश्वकप विजेता टोलीलाई विशेष च्याम्पियनसिप औँठी प्रदान गर्न लागिएको जनाएको हो। अमेरिकी प्रमुख खेलकुद लिगहरूमा च्याम्पियन टोलीलाई औँठी दिने परम्परालाई अब विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा पनि लागू गरिएको फिफाले उल्लेख गरेको छ।

जुलाई १९ मा न्युयोर्क–न्युजर्सी स्टेडियममा हुने फाइनलमा स्पेनअर्जेन्टिना आमनेसामने हुनेछन्। यी दुईमध्ये विजेता बन्ने टोलीले इतिहासकै पहिलो विश्वकप च्याम्पियनसिप औँठी प्राप्त गर्नेछ।

कस्तो हुनेछ औँठी ?

फिफाका अनुसार औँठीको एक भागमा विश्वकप ट्रफीको आकृति कुँदिएको हुनेछ भने अर्को भागमा विजेता टोलीको पहिचान झल्किने विशेष डिजाइन रहनेछ। प्रत्येक औँठी छुट्टै नम्बरयुक्त, सम्बन्धित व्यक्तिको औँलाको नापअनुसार तयार पारिने र प्रामाणिकताको प्रमाणपत्रसहित उपलब्ध गराइनेछ।

फाइनल सकिएलगत्तै विजेता टोलीका कप्तान र मुख्य प्रशिक्षकलाई अस्थायी औँठी हस्तान्तरण गरिनेछ। त्यसपछि टोलीका ३० खेलाडी तथा स्टाफका लागि व्यक्तिगत नापअनुसार तयार गरिएका औँठी औपचारिक समारोहमार्फत प्रदान गरिने फिफाले जनाएको छ।

२,०२६ वटा औँठी उत्पादन हुने-

फिफाका अनुसार कुल २,०२६ वटा च्याम्पियनसिप औँठी उत्पादन गरिनेछ, जुन प्रतियोगिताको वर्षसँग मेल खाने गरी तय गरिएको संख्या हो। तीमध्ये ३० वटा विजेता टोलीका खेलाडी र स्टाफलाई प्रदान गरिनेछन् भने बाँकी १,९९६ वटा विश्वभरका फुटबल समर्थकका लागि आधिकारिक लाइसेन्सप्राप्त स्मरणीय सामग्रीका रूपमा बिक्री गरिनेछन्। यद्यपि यसको मूल्य भने अझै सार्वजनिक गरिएको छैन।

रोचक फाइनल-

विश्वकपको उपाधिका लागि हुने फाइनलमा अर्जेन्टिना लगातार दोस्रो पटक फाइनल खेल्दै उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ। उता स्पेन भने सन् २०१० पछि दोस्रो पटक विश्वकप जित्ने प्रयासमा रहेको छ। जुलाई १९ को फाइनलले नयाँ विश्व च्याम्पियनसँगै इतिहासकै पहिलो विश्वकप च्याम्पियनसिप औँठीको विजेता पनि तय गर्नेछ।

Leave A Reply

Your email address will not be published.