वीरगञ्जका सुरेश बिडारीलाई आर्थिक पत्रकारिताको प्रतिष्ठित राष्ट्रिय सम्मान

41

काठमाडौं । वीरगञ्जलाई कर्मथलो बनाएर लामो समयदेखि खोज पत्रकारितामा सक्रिय पत्रकार सुरेश बिडारी प्रतिष्ठित ‘भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मानित भएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आर्थिक सुशासन, सार्वजनिक सम्पत्तिको संरक्षण तथा भ्रष्टाचारविरुद्ध खोजमूलक पत्रकारिता मार्फत पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै बिडारीलाई यस वर्षको पुरस्कार प्रदान गरेको हो।

काठमाडौंमा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले बिडारीलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरे। स्वर्गीय उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी को स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार प्रत्येक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई प्रदान गरिन्छ।

बिडारीले खोज पत्रकारिता केन्द्र (सीआईजे) नेपालका लागि तयार पारेको ‘लिजको नाममा अस्तव्यस्त भए वीरगञ्जका सार्वजनिक सम्पत्ति’ शीर्षकको खोजमूलक रिपोर्टले राष्ट्रियस्तरमा व्यापक चर्चा बटुलेको थियो। उक्त रिपोर्ट मार्फत वीरगञ्जका सार्वजनिक जग्गा तथा ऐतिहासिक सम्पत्ति न्यून मूल्यमा लिजमा दिइँदा राज्यको सम्पत्तिमाथि भएको दुरुपयोग उजागर गरिएको थियो।

नाफिजका अनुसार आर्थिक पारदर्शिता, सुशासन र सार्वजनिक हितसँग सम्बन्धित विषयमा निरन्तर खोजमूलक पत्रकारिता गर्दै आएको योगदानका आधारमा बिडारीलाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको हो।

वीरगञ्जको सञ्चार क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका बिडारी हाल सेतोपाटी डटकम मार्फत आर्थिक अनियमितता, भ्रष्टाचार तथा सार्वजनिक सरोकारका विषयमा खोज पत्रकारितालाई निरन्तरता दिँदै आएका छन्।

Leave A Reply

Your email address will not be published.